Politics·

राष्ट्रवादको दोहोरो चरित्र

राष्ट्रवादको दोहोरो चरित्र

खुला संसार चाहिने हामी, खुला नेपाल नचाहिने हामी। विश्व अहिले सीमाभन्दा अवसरले परिचित छ। मानिस जन्मेको भूमिमा मात्र बाँधिएर बस्दैन; ऊ आफ्नो सीप, ज्ञान, श्रम र सपनासँगै संसारभर यात्रा गर्छ। यही वैश्वीकरणको युगमा नेपालीहरू पनि संसारका प्राय : सबै कुनामा पुगेका छन्। अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायत, युरोप, जापान, दक्षिण कोरिया, खाडी मुलुक— जहाँ अवसर छ, त्यहाँ नेपाली छन्। यो कुनै लाजको विषय होइन; बरु नेपालीको परिश्रम, क्षमता र संघर्षको प्रमाण हो।तर यही सफलताको कथाबीच एउटा असहज प्रश्न

साँचो राष्ट्रवाद बन्द ढोकामा बस्दैन। साँचो राष्ट्रवाद आत्मविश्वासमा बाँच्छ। खुला संसार चाहिने हामी, खुला नेपाल नचाहिने हामी। विश्व अहिले सीमाभन्दा अवसरले परिचित छ। मानिस जन्मेको भूमिमा मात्र बाँधिएर बस्दैन; ऊ आफ्नो सीप, ज्ञान, श्रम र सपनासँगै संसारभर यात्रा गर्छ। यही वैश्वीकरणको युगमा नेपालीहरू पनि संसारका प्राय : सबै कुनामा पुगेका छन्। अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायत, युरोप, जापान, दक्षिण कोरिया, खाडी मुलुक— जहाँ अवसर छ, त्यहाँ नेपाली छन्। यो कुनै लाजको विषय होइन; बरु नेपालीको परिश्रम, क्षमता र संघर्षको प्रमाण हो। तर यही सफलताको कथाबीच एउटा असहज प्रश्न पनि छ— के हामीले अरूका लागि पनि त्यही मापदण्ड स्वीकार गरेका छौं, जुन आफ्ना लागि मागिरहेका छौं ? कुनै नेपालीले अमेरिकाको स्थायी बसोवास प्राप्त गर्यो भने सामाजिक सञ्जालमा बधाईको वर्षा हुन्छ। ‘देशको सान’, ‘नेपालीको गौरव’, ‘अझ उचाइमा पुग्नुस्’ भन्ने शुभकामना ओइरिन्छन्। कुनै नेपालीले अस्ट्रेलियामा कम्पनी स्थापना गर्यो, युरोपमा करोडौंको लगानी गर्यो, जापानमा विश्वविद्यालयको प्राध्यापक बन्यो, बेलायतको मेयर बन्यो, अमेरिकाको सांसद बन्यो वा अन्य कुनै देशको उच्च सरकारी पदमा पुग्यो भने हामी गर्वले भन्छौं—‘नेपालीले संसार जित्यो।’ त्यो गर्व स्वाभाविक पनि हो। तर त्यसको ठीक उल्टो दृश्य नेपालमा देखिन्छ। यदि कुनै विदेशीले नेपालमा दीर्घकालीन बसोवासको प्रस्ताव गर्यो, उद्योग स्थापना गर्न चाह्यो, ठूलो लगानी गर्न खोज्यो वा नेपालको अर्थतन्त्रसँग दीर्घकालीन सम्बन्ध बनाउन खोज्यो भने अचानक राष्ट्रवादको ज्वारभाटा आउँछ। सामाजिक सञ्जालदेखि संसद्सम्म एउटै आवाज सुनिन्छ– ‘देश बेचियो’, ‘भूमि कब्जा हुँदैछ’, ‘विदेशीले नेपाल सिध्याउँछन्’, ‘राष्ट्रघात भयो’। यो विरोधाभास केवल नीतिको होइन; मानसिकताको हो। हामी संसारलाई खुला देख्न चाहन्छौं, तर नेपाललाई बन्द। हामी आफ्ना नागरिकका लागि विश्वको ढोका खुला होस् भन्ने चाहन्छौं, तर नेपालका ढोका अरूका लागि आधा पनि खुलून् भन्ने कल्पना गर्न सक्दैनौं। हामी समान अवसर माग्छौं, तर समान अवसर दिन डराउँछौं। हामी विश्व नागरिक बन्न चाहन्छौं, तर अरूलाई नेपालको साझेदार बन्न दिने विषयमा असहज हुन्छौं। निश्चय नै, कुनै पनि राष्ट्रले आफ्नो सार्वभौमिकता, भूमि, प्राकृतिक स्रोत र राष्ट्रिय हितको रक्षा गर्नुपर्छ। विदेशी लगानी, बसोवास वा नागरिकताका विषयमा कठोर कानुनी मापदण्ड हुनु स्वाभाविक हो। तर प्रश्न नियमको होइन, नियमको नैतिकताको हो। यदि हामी विश्वबाट खुलापन चाहन्छौं भने कम्तीमा हाम्रो सोच पनि खुला हुनुपर्छ। यदि हामी नियन्त्रणको पक्षमा छौं भने आफ्ना नागरिक विदेशमा स्थायी बसोवास गर्दा पनि त्यही तर्क स्वीकार गर्नुपर्छ। दुईवटा फरक नैतिकता एउटै समाजमा धेरै समय टिक्दैनन्। राजनीतिले यसलाई अझ रोचक बनाएको छ। विदेशी लगानी आवश्यक पर्दा नेता भन्छन्, ‘नेपालमा लगानी गर्न आउनुहोस्, हामी सबै सुविधा दिन्छौं।’ तर त्यही विषय चुनावको समयमा आइपुग्दा राष्ट्रवादको मञ्च तयार हुन्छ। विदेशी लगानीकर्ता अचानक ‘खतरा’ बन्न थाल्छन्। सत्ता र प्रतिपक्षले राष्ट्रवादलाई सिद्धान्तका रूपमा होइन, मत बटुल्ने औजारका रूपमा प्रयोग गर्छन्। हामीले राष्ट्रवादलाई विचारभन्दा बढी नारामा सीमित गरेका छौं। विडम्बना के छ भने नेपालीहरू विश्वका करिब दुई सय देश र क्षेत्रसम्म पुगेका छन्। उनीहरूले त्यहाँ घर किनेका छन्, उद्योग स्थापना गरेका छन्, विश्वविद्यालय खोलेका छन्, अस्पताल चलाएका छन्, कर तिरेका छन्, राजनीतिक अधिकार प्रयोग गरेका छन्। हामी त्यो देखेर गर्व गर्छौं। तर यदि संसारका नागरिकमध्ये केहीले नेपाललाई पनि आफ्नो जीवनको हिस्सा बनाउन चाहे भने हामी उनीहरूलाई सन्देहको आँखाले हेर्छौं। के हामीले कहिल्यै सोचेका छौं– यदि अमेरिका, अस्ट्रेलिया, क्यानडा वा युरोपेली मुलुकले पनि यही मानसिकता अपनाएका भए आज लाखौं नेपाली कहाँ हुन्थे ? यदि उनीहरूले पनि भनेका भए– ‘विदेशी आउनु भनेको हाम्रो संस्कृति समाप्त हुनु हो’– के आज हामी आफ्ना छोराछोरीको पीआर मनाइरहेका हुन्थ्यौं ? हामीले अरूबाट उदारता लिन्छौं, तर आफू उदार बन्न सक्दैनौं। हामी विश्वबाट विश्वास चाहन्छौं, तर आफैं विश्वास गर्न डराउँछौं। यो लेख विदेशीलाई खुला नागरिकता दिनुपर्छ भन्ने तर्क होइन। यो लेख विदेशीलाई अनियन्त्रित रूपमा भूमि बेच्नुपर्छ भन्ने पनि होइन। यो लेख केवल एउटा बौद्धिक इमानदारीको आग्रह हो– आफ्ना लागि एउटा नैतिकता र अरूका लागि अर्को नैतिकता किन ? दार्शनिकहरूले भनेका छन्– पाखण्ड त्यही क्षण जन्मिन्छ, जब मानिसले आफूलाई लागू नहुने नियम अरूमाथि लागू गर्न खोज्छ। आज हाम्रो राष्ट्रवाद त्यही पाखण्डको जोखिममा छ। हामी विश्वव्यापी अधिकार आफूका लागि चाहन्छौं, तर विश्वव्यापी दायित्व स्वीकार्न चाहँदैनौं। साँचो राष्ट्रवाद बन्द ढोकामा बस्दैन। साँचो राष्ट्रवाद आत्मविश्वासमा बाँच्छ। आत्मविश्वासी राष्ट्रले आफ्नो पहिचान, संस्कृति र राष्ट्रिय हित जोगाउँदै संसारसँग सम्बन्ध विस्तार गर्छ। असुरक्षित राष्ट्रले भने हरेक विदेशीमा शत्रु, हरेक लगानीमा षड्यन्त्र र हरेक फरक विचारमा खतरा देख्छ। नेपाललाई न त अन्धवैश्वीकरणले बचाउँछ, न अन्धराष्ट्रवादले। नेपाललाई बचाउने कुरा भनेको स्पष्ट नीति, समान नैतिकता र आत्मविश्वासी राज्य हो। जहाँ राष्ट्रिय हितको रक्षा पनि हुन्छ, विदेशी लगानी पनि पारदर्शी नियमभित्र स्वागत हुन्छ, र आफ्ना नागरिक विदेशमा सम्मान खोज्दा त्यसलाई पनि स्वाभाविक रूपमा हेरिन्छ। राष्ट्रवादको परीक्षा नाराले हुँदैन; नैतिक निरन्तरताले हुन्छ। जबसम्म हामी आफ्ना लागि एउटा मापदण्ड र अरूका लागि अर्को मापदण्ड बनाइरहन्छौं, तबसम्म हाम्रो राष्ट्रवाद प्रेमभन्दा बढी सुविधाको राजनीति हुनेछ। अनि इतिहासले हाम्रो परिचय एउटा आत्मविश्वासी राष्ट्रका रूपमा होइन, आफ्नै तर्कसँग निरन्तर पराजित हुँदै गएको समाजका रूपमा लेख्नेछ। नेपाललाई न त अन्धवैश्वीकरणले बचाउँछ, न अन्धराष्ट्रवादले। नेपाललाई बचाउने कुरा भनेको स्पष्ट नीति, समान नैतिकता र आत्मविश्वासी राज्य हो।

This is a summary. Read the full article at the original source.

Read full article at annapurnapost