Business·

मागअनुसार ग्यास नआएपछि सर्लाहीमा अभाव चर्कियो

मागअनुसार ग्यास नआएपछि सर्लाहीमा अभाव चर्कियो

जनार्जन खत्रीसर्लाही, साउन १५ गते । सर्लाहीमा खाना पकाउने एलपी ग्यासको अभाव हुँदा उपभोक्ता समस्यामा परेका छन्। विगत एक सातादेखि सहज रूपमा ग्यास नपाउँदा सर्वसाधारण मारमा परेका हुन्।...

जनार्जन खत्री सर्लाही, साउन १५ गते । सर्लाहीमा खाना पकाउने एलपी ग्यासको अभाव हुँदा उपभोक्ता समस्यामा परेका छन्। विगत एक सातादेखि सहज रूपमा ग्यास नपाउँदा सर्वसाधारण मारमा परेका हुन्। लालबन्दी नगरपालिका–५, मेजरगन्जकी अम्बिका घिमिरेले पसलमा जाँदा ग्यास नपाएपछि दाउरा बालेर खाना पकाउनुपरेको गुनासो गर्नुभयो। ग्यास अभावका कारण ग्रामीण क्षेत्रका कतिपय परिवारले दाउराको प्रयोग गर्न थालेका छन् भने सहरी क्षेत्रमा उपभोक्ता बढी प्रभावित भएका छन्। उपभोक्ताले डिलर तथा पसलमा खाली सिलिन्डर लाइनमा राखेर ग्यासको प्रतीक्षा गरिरहेका छन्। जिल्लाको लालबन्दी, हरिवन, बरहथवा, बयलवास, मलङ्गवासहितका मुख्य बजार क्षेत्र तथा ग्रामीण भेगमा समेत ग्यास अभाव देखिएको छ। नेपाल आयल निगमले गत असार ३१ गतेदेखि भरी सिलिन्डर ग्यास बिक्री सुरु गरेपछि बजारमा अभाव देखिन थालेको बिक्रेताहरूले बताएका छन्। ग्यास अभाव हुने हल्लाका कारण केही उपभोक्ताले आवश्यकता भन्दा बढी सिलिन्डर मौज्दात राख्दा पनि समस्या थपिएको बिक्रेताको भनाइ छ। लालबन्दीस्थित नोबेल ग्यासका बिक्रेता नवराज मिश्रले कम्पनीबाट मागअनुसार ग्यास आपूर्ति नभएकाले समस्या भएको बताउनुभयो। उहाँका अनुसार १८० सिलिन्डर माग गर्दा मुस्किलले ६८ वटा मात्र प्राप्त भएको छ। “कम्पनीबाट पर्याप्त ग्यास नआउँदा अभाव सिर्जना भएको हो,” उहाँले भन्नुभयो। सर्लाही जिल्ला ग्यास बिक्रेता सङ्घका अनुसार जिल्लामा मासिक ६० देखि ७० हजार थान भरी सिलिन्डर खपत हुने गरेको छ। सङ्घका अध्यक्ष लालबाबु महतोले वीरगन्ज, जनकपुर, हेटौँडा, गरुडा लगायतका क्षेत्रबाट ग्यास आपूर्ति गर्ने कम्पनीमै पर्याप्त मौज्दात नरहेको जानकारी आइरहेको बताउनुभयो। उहाँले जिल्लामा प्राप्त भएको ग्यास उपभोक्तालाई बिक्री गरिरहेको दाबी गर्नुभयो। “हामीकहाँ आएको ग्यास बिक्री गरिरहेका छौँ, तर कम्पनीबाट पर्याप्त मात्रामा आपूर्ति नहुँदा समस्या देखिएको हो,” उहाँले भन्नुभयो। सरकारले ग्यासको आपूर्ति र मौज्दात पर्याप्त रहेको भन्दै अनावश्यक हल्लाको पछि नलाग्न र आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न आग्रह गर्दै आएको छ। तर, उपभोक्ताले बजारमा सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन्। सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जिल्लामा ग्यास अभावसम्बन्धी औपचारिक गुनासो प्राप्त नभएको बताउनुभयो। उहाँले कतै कसैले कृत्रिम अभाव सिर्जना गरेको वा ग्यास लुकाएर राखेको पाइए तत्काल प्रहरी वा प्रशासनलाई जानकारी गराउन आग्रह गर्नुभयो। सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले ग्यास आपूर्ति सहज बनाउन सम्बन्धित निकायसँग समन्वय गर्ने बताउनुभयो।

This is a summary. Read the full article at the original source.

Read full article at gorkhapatraonline