रोपो सुक्न थाल्यो किसान चिन्तित

फलेवास समाचारदाता पर्वत, साउन ११ गते । धान रोपेको एक सातामै रोपो सुक्न थालेपछि पर्वतको फलेवास नगरपालिका देवीस्थानका किसान चिन्तित बनेका छन् । धेरै उत्पादन हुने र सुगन्धित धानको आशा...
फलेवास समाचारदाता पर्वत, साउन ११ गते । धान रोपेको एक सातामै रोपो सुक्न थालेपछि पर्वतको फलेवास नगरपालिका देवीस्थानका किसान चिन्तित बनेका छन् । धेरै उत्पादन हुने र सुगन्धित धानको आशामा भारतबाट आयातित धानको बिउ प्रयोग गरेका किसान अहिले चिन्तामा डुबेका छन् । स्थानीय ठाकुरप्रसाद भुसालले घरवरिपरि लगाएको करिब आधा रोपनीको धानको रोपो एक सातामै पात सुक्न थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै फल्ने र खाँदा बास्ना आउने भनिएकाले यो जातको धान लगाएका थियौँ तर रोपेको केही दिनमै पात सुक्न थालेपछि चिन्ता बढेको छ ।” देवीस्थानका मात्र होइन, अरू क्षेत्रका खेतमा पनि यस्तै समस्या देखिन थालेको छ । धानको गाजमा पात पहेँलिँदै सुक्ने लक्षण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेवासका अगुवा किसान भरतकुमार श्रेष्ठले सरकारले प्रतिबन्ध लगाएका तथा स्थानीय हावापानीसँग नमिल्ने धानका बिउ प्रयोग गर्दा समस्या देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय माटो र वातावरण सुहाउँदो जातको धान रोप्नुपर्ने रहेछ । उत्पादनको लोभमा अनुभव नभएको अपरिचित जातका बिउ प्रयोग गर्दा हामीलाई समस्या पर्ने देखिन थाल्यो ।” फलेवास नगरपालिकाका कृषि प्राविधिक सागर लामिछाने नगरपालिकाले सिफारिस गरेका जातभन्दा फरक धान रोपिएका क्षेत्रमा समस्या देखिएको बताउनुभयो । नगरपालिकाले हरेक वर्ष स्थानीय माटो र हावापानी सुहाउँदा जेठोबुढो र खुमल जातका धानका बिउ ५० प्रतिशत अनुदान दिँदै आएको छ । उहाँले भन्नुभयो, “हामीले वितरण गरेको बिउमा समस्या आएको छैन, किसानले आफूखुसी खरिद गरेका केही जातका धानमा समस्या देखिएको हुन सक्छ ।” जिल्लामा वार्षिक करिब २५ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको छ । यस वर्ष पनि अधिकांश क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको छ ।
This is a summary. Read the full article at the original source.
Read full article at gorkhapatraonline
