Top·

मनसुनजन्य विपद् : यस्तो छ पूर्व तयारी

मनसुनजन्य विपद् : यस्तो छ पूर्व तयारी

काठमाडौँ, साउन ११ गते । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार यस वर्ष साउन ७ गतेसम्म ११ सय ९४ वटा मनसुनजन्य विपद्का घटना घटेका छन् । जसबाट ५५ जन...

काठमाडौँ, साउन ११ गते । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार यस वर्ष साउन ७ गतेसम्म ११ सय ९४ वटा मनसुनजन्य विपद्का घटना घटेका छन् । जसबाट ५५ जनाको मृत्यु, तीन बेपत्ता, एकसय ६३ जना घाइते, एक हजार ३५३ परिवार प्रभावित र १३ करोड ३६ लाख भन्दा बढी अनुमानित क्षति भइसकेको छ । नेपालमा मनसुनजन्य विपद्बाट वर्षेनी सयौंको ज्यान जान्छ । हजारौं घर परिवार प्रभावित हुनुका साथै करोडौंको क्षति हुने गरेको तथ्याङ्क छ । विपद् अध्ययन केन्द्र, इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका निर्देशक समेत रहनुभएका विपद् विज्ञ डा. वसन्तराज अधिकारी हिमालय पर्वत क्षेत्रमा एउटाले अर्को प्रकोप निम्त्याउने क्रम बढेको बताउनुहुन्छ । पछिल्लो १५–२० वर्ष यो क्रम अझ बढेको छ। “मेलम्चीको बाढी हेरौं, थामेको बाढी हेरौं अथवा हुम्लाको लिमीमा गएको बाढी हेरौं यसले के देखिन्छ भने माथिबाट एउटा प्रकोप जेनेरेट हुने त्यसले फेरि अर्को प्रकोप निम्त्याउने ‘क्यासकेडिङ हाजार्ड’ भन्छौं हामी । नेपालमा सुनामी र ज्वालामुखी बाहेक सबै प्रकारका प्रकोप हुन्छन्” उहाँले भन्नुभयो, “त्यसकारण, नेपाल इज अ मेगा सपिङ्ग सेन्टर अफ डिजास्टर । नेपाल विपद्को विशाल केन्द्र हो भन्छौं ।” वर्षेनी सयौँको मृत्यु जलवायु परिवर्तन, भू–हलचल र मानवजन्य क्रियाकलापबाट सिर्जित प्रकोपका कारण नेपालमा पछिल्ला दशकमा बहुप्रकोपको जोखिम बढेको छ । गत वर्ष २०८२ मा बाढी ३२९, पहिरो ५२५, भारी वर्षा ४४९ र चट्याङ्गको ४२६ गरी एक हजार १२९ वटा मनसुनजन्य विपद्का घटना घटे । जसबाट १७० जनाको मृत्यु, ३२ बेपत्ता, ४३९ घाइते, ६ हजार ४४७ परिवार प्रभावित भए भने २४ करोड २३ लाखभन्दा बढी अनुमानित क्षति भएको छ । यसैगरी, २०८१ मा बाढी ४१९, पहिरो एक हजार ६, भारी वर्षा ५७५, चट्याङ्ग ४३६ गरी जम्मा २४ सय ३६ वटा मनसुनजन्य घटना घटे । जसबाट ५३५ जनाको मृत्यु, ६६ बेपत्ता, ६९४ घाइते, ११ हजार १४८ परिवार प्रभावित र ७४ करोड ४५ लाखभन्दा बढी अनुमानित क्षति पुग्यो । सूचना, प्रविधिको विकाससँगै घटनाको सङ्कलन पनि बढेको उहाँ बताउनुहुन्छ । विपद्को तथ्याङ्क बढ्दो उहाँले भन्नुभयो, “पहिलाभन्दा अहिले इभेन्ट रेकर्डिङ बढेको छ । पहिला जुम्ला, हुम्लामा के हुन्थ्यो भनेर थाहा नै हुने थिएन । सूचना प्रविधि थिएन । दुई, चार वर्षपछि थाहा हुन्थ्यो होला तर इभेन्ट रेकर्डिङ हुने थिएन ।” मनसुनजन्य विपद्बाट गएको चार वर्षमा ज्यान गुमाउनेको सङ्ख्या एक हजार ८१ छ । २०८० मा मनसुनजन्य विपद्का एक हजार ७७ घटना घटे । जसबाट ११४ को मृत्यु, ३० बेपत्ता, ३०९ घाइते, ६ हजार ४३७ परिवार प्रभावित र ३४ करोड ७० लाखभन्दा बढी अनुमानित क्षति भएको छ । २०७९ मा ८४३ मनसुनजन्य विपद्का घटना घट्यो । जसबाट २०७ जनाको मृत्यु, ३२ घाइते, ३६१ परिवार प्रभावित र १५ करोड ७० लाखभन्दा बढी अनुमानित क्षति भएको तथ्याङ्ग छ । सहरी क्षेत्रमा डुबान ग्रामीण क्षेत्रमा मात्र नभइ काठमाडौँ उपत्यका लगायत सहरी क्षेत्रमा समेत डुबानको समस्या तीव्र बढेको छ । विगतमा डिजाइन गरिएका संरचना अहिलेको मनसुनी वर्षा थेग्न योग्य छैनन् । उहाँ भन्नुहुन्छ, “विगतमा सर्टेन लेभलमा यति पानी आउछ र ढल निकास हुन्छ भनेर बनाइएको संरचना थियो । आजभन्दा २० वर्ष अगाडि असार, साउनभरी पानी पर्थ्यो । अहिले हप्ताभरी आउँदैन । एक, दुई एकदमै धेरै पानी पर्छ ।” के छ पूर्वतयारी ? राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीका अनुसार प्राधिकरण नीतिगत र संरचनागत रुपमा पूर्व तयारीकै अवस्थामा छ । केसी भन्नुहुन्छ, “हामी नीतिगत र कानुनी रुपमा पूर्व तयारीकै अवस्थामा छौं । मनसुन पूर्वतयारी प्रतिकार्य राष्ट्रिय कार्ययोजना स्वीकृत भएर हामीले सबै निकायमा सम्प्रेषण गरिरहेका छौं । अहिले यो कार्यान्वयन भइरहेको छ । सङ्घ, प्रदेश, स्थानीय तह, जिल्ला, विभिन्न सङ्घ–संस्थादेखि सबै संयन्त्रहरु त्यसमा जोडिएका छन् । संरचनागत रुपमा पनि हामी पूर्व तयारी अवस्थामा छौं ।” विपद् जुनसुकै बेला आउन सक्ने भएकोले हाइ अलर्टमा रहनुपर्छ । जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन सम्प्रेषण गरेको आधारमा प्राधिकरणले सूचना सम्प्रेषण थप प्रभावकारी बनाउन भूमिका खेल्छ । उहाँ भन्नुहुन्छ, “ह्युमन रिसोर्सलाई तयारी अवस्थामा राख्ने कुरा, तालिमदेखि क्षमता विकास एवम् टेक्नोलोजीको अधिकतम उपयोग गर्ने कुरा । हाम्रा विपद् पोर्टलहरु छन्, पूर्वानुमानका लागि पूर्व कार्य र रेस्पोन्सका लागि विभिन्न संयन्त्रहरु छन् त्यसलाई सक्रिय बनाउने र कोअर्डिनेसन मोनिजम्लाई प्रभावकारी बनाउने कुरा । यी कुराहरुलाई विशेष ध्यान दिएर काम गरिरहेका छौं ।” विपद्को जोखिम न्यूनीकरणका लागि सरकारबाट पहल नै नगरिएको भने होइन तर, विज्ञान र तथ्यमा आधारित निर्णय हुन नसक्दा वर्षेनी क्षति बेहोर्नुपरेको डा. अधिकारी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सरकारले नगरेको भन्न चाहिँ मिल्दैन । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन पूर्वतयारी प्रतिकार्य योजना बनाउँछ । प्रत्येक जिल्लामा बन्छ । तर, सबभन्दा महत्वपूर्ण कुरा के हो भने जोखिम कहाँ हो ? केबाट कति जोखिम हुन्छ भन्ने कुराको तथ्याङ्कमा ‘साइन्स बेस डिसिजन प्रोसेस’ भन्छौं नि तथ्यामा आधारित निर्णय प्रक्रिया हुन नसकेको कारणले हामीले बनाएका योजना र कतिपय कामकारवाहीहरु सफल नभएको जस्तो देखिएको हो ।” आगामी दिनमा विपद्को जोखिम कम गर्न नेपालमा जोखिमको मुल्याङ्कन गरेर, पूर्व सूचना प्रणाली स्थापनादेखि नीतिगत तहमा प्रभावकारी काम गर्न आवश्यक रहेको उहाँको सुझाव छ । “सबभन्दा पहिला नेपालभरी के कस्ता जोखिमहरु छन् ? कस्तो प्रकोपको जोखिम छन् भन्ने नक्साङ्कन गर्न पर्यो । दोस्रोमा, नक्साङ्कन अनुसार कार्ययोजना बनाएर पूर्व तयारीका कामहरु गर्न पर्यो र पूर्व सूचना प्रणाली स्थापना गर्न पर्यो । तेस्रो, विपद्लाई आत्मसात् गर्न पर्यो”, उहाँ भन्नुहुन्छ, “चौथो, यो सरकारको मात्र काम होइन सबैको हो भनेर स्थानीय तहबाटै काम गर्न पर्यो । पाँचौं र सबभन्दा महत्वपूर्ण कुरा नेपाल सरकारले विश्वविद्यालय तहमा सहकार्य गरेर तथ्याङ्कको सङ्कलन गर्ने र विश्लेषण गरेर त्यसको आधारमा नीति निर्माण ग¥यौं भने विस्तारै निराकरण हुँदै जान्छन् ।”

This is a summary. Read the full article at the original source.

Read full article at gorkhapatraonline