युट्युबर रोशन पोखरेल २५ हजार धरौटीमा छुटे

राधा लुइटेलफिदिम, साउन २ गते । प्रधानमन्त्री बालेन्द्र साह र उहाँको परिवारलाई लक्षित गरी सामाजिक सञ्जालमा अपमानजनक तथा गालीगलौजपूर्ण सामग्री प्रसारण गरेको आरोपमा पक्राउ परेका युट्य...
राधा लुइटेल फिदिम, साउन २ गते । प्रधानमन्त्री बालेन्द्र साह र उहाँको परिवारलाई लक्षित गरी सामाजिक सञ्जालमा अपमानजनक तथा गालीगलौजपूर्ण सामग्री प्रसारण गरेको आरोपमा पक्राउ परेका युट्युबरलाई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । फाल्गुनन्द गाउँपालिका–६ का २४ वर्षीय रोशन पोखरेललाई धरौटीमा रिहा गर्न उच्च अदालत विराटनगरको इलाम इजलासले आदेश दिएको हो । उच्च अदालतको इलाम इजलासले पोखरेलसँग २५ हजार रुपैयाँ धरौटी लिई मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ । यससँगै जिल्ला अदालत पाँचथरले यसअघि दिएको थुनामा राख्ने आदेश बदर भएको छ । न्यायाधीशद्वय किरण पोखरेल र काजीबहादुर राईको संयुक्त इजलासले पुनरावेदनमाथि सुनुवाइ गर्दै धरौटीमा रिहा गर्ने आदेश गरेको हो । यसअघि जिल्ला अदालत पाँचथरका न्यायाधीश कुमार मास्केको इजलासले विद्युतीय कारोबार ऐनअन्तर्गत दर्ता भएको मुद्दामा पोखरेललाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको थियो । सो आदेश चित्त नबुझेपछि उहाँले उच्च अदालतमा पुनरावेदन गर्नुभएको थियो । प्रहरीले पोखरेललाई २०८२ चैत २९ गते नियन्त्रणमा लिएको थियो । प्रारम्भिक चरणमा राज्यविरुद्धको कसुरको कोणबाट समेत अनुसन्धान गरिए पनि सोही दिन उहाँलाई परिवारको जिम्मा लगाएर छाडिएको थियो । त्यसलगत्तै उहाँले सार्वजनिक भिडियोमार्फत आफ्नो अभिव्यक्तिप्रति क्षमायाचना गर्नुभएको थियो । अनुसन्धान सम्पन्न भएपछि जिल्ला प्रहरी कार्यालयको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय पाँचथरले २०८३ असार १८ गते विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता गरेको थियो । त्यसपछि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उच्च अदालतको पछिल्लो आदेशअनुसार पोखरेल २५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा हुनुभएको उहाँका काका दुर्गा पोखरेलले बताउनुभयो । उहाँविरुद्धको मुद्दाको अन्तिम टुङ्गो भने अदालतको नियमित सुनुवाइ र अन्तिम फैसलाबाट लाग्नेछ ।
This is a summary. Read the full article at the original source.
Read full article at gorkhapatraonline
